राजनीतिक दलमा आबद्ध शिक्षक तथा कर्मचारीलाई कारबाही गर्न शिक्षा मन्त्रालयको सक्रियता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई कारबाही गर्ने विषयलाई महत्वका साथ अघि बढाएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच आज सिंहदरबारमा छलफल भएको छ ।

शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिएको, सक्रिय राजनीति गरेको विषयमा मन्त्रालयमा उजुरी प्राप्त भएको र प्रचलित कानुनले शिक्षकलाई राजनीति गर्नबाट बन्देज गरेकाले ती कानुन कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको छ ।

छलफलमा शिक्षामन्त्री श्रेष्ठले राजनीति गरिरहेका शिक्षक पहिचान गर्नमा निर्वाचन आयोगबाट सहयोग माग गरेकी थिइन् । मन्त्रालयले प्रमाण जुटाउन चाहिने विवरण निर्वाचन आयोगबाट प्राप्त हुने अपेक्षा गरेको मन्त्री श्रेष्ठले बताइन् ।

छलफलका क्रममा प्रमुख आयुक्त थपलियाले विद्यमान कानुन, विगतमा अदालतबाट भएका फैसला र अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर दलमा आवद्ध शिक्षक र कर्मचारीलाई कारबाही गर्न कुनै समस्या नरहेको बताएका थिए । 

रासस

Comments

Back to top