टेस्लाले १४ हजार जनाभन्दा धेरै कर्मचारी कटौती गर्ने

अर्बपति एलन मस्कको विद्युतीय कार उत्पादन कम्पनी टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । बिक्रीमा निकै कमी आएको र विश्वका अरू कम्पनीसँग मूल्यको प्रतिस्पर्धाका कारण टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्न लागेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

कर्मचारी कटौतीको निर्णय र अस्थिरताका कारण टेस्लाका वरिष्ठ उपाध्यक्ष ड्रु बाग्लिनो, सार्वजनिक नीति तथा व्यवसाय विकासका उपाध्यक्ष रोहन पटेलले राजीनामा दिएको खबरमा उल्लेख छ ।

बजार मूल्यअनुसार विश्वको सबैभन्दा ठूलो विद्युतीय गाडी निर्माता कम्पनी टेस्लामा गएको डिसेम्बरसम्म एक लाख ४० हजार पाँच सय जना कर्मचारी थिए । अब झण्डै १४ हजार जना कर्मचारी कटौतीको अन्तिम तयारी भइरहेको छ । कम्पनीले क्यालिफोर्निया र टेक्सासका केही कर्मचारीलाई पहिले नै बर्खास्तको बारेमा जानकारी पठाएको छ ।

टेस्लाका सीईओ एलोन मस्कले लागत घटाउन र उत्पादकत्व बढाउनका लागि कर्मचारी कटौती गर्नुपरेको बताएका छन् । यो निर्णय कठिन भए पनि अर्को विकल्प नभएको मस्कको भनाइ छ ।

एजेन्सी

Comments

Back to top