यसरी जोडिएको थियो नेपाल-अमेरिका सम्बन्ध

नेपालमा राणा परिवारले एक शताब्दीसम्म शासनसत्ता सञ्चालन गरेको थियो। उनीहरूको शासनकालमा नेपालको द्विपक्षीय वैदेशिक सम्बन्ध एउटै मुलुकसँग मात्र थियो।

सन् १९४६ सम्म एउटै मुलुक बेलायतसँग मात्र नेपालको द्विपक्षीय सम्बन्ध थियो। त्यतिबेला उत्तरी तिब्बतको ल्हासामा वकिल अड्डा भने थियो। सन् १९३४ मा नेपालले लन्डनमा दूतावास स्थापना गरी राजदूत खटाएको थियो। बेलायतबाहेक केही मुलुकसँग तक्मा आदानप्रदानमा मात्र सम्बन्ध सीमित थियो।

पहिलो विश्वयुद्धजस्तै दोस्रो विश्वयुद्धमा समेत नेपालले पुर्‍याएको योगदान ब्रिटिस र उसका सहयोगी राष्ट्रमाझ प्रशंसनीय थियो। दोस्रो विश्वयुद्धमा जापानमाथि दुईवटा अणुबम प्रहार गरेर युद्धमा निर्णायक भएको थियो, अमेरिका। त्यसैबाट बाँकी विश्वलाई आफ्नो शक्ति देखाएर अबका दिनमा आफू विश्व राजनीतिको मियो रहने जनाउ अमेरिकाले दिइसकेको थियो।

सन् १९४५ नोभेम्बरको अन्त्यतिर प्रधानमन्त्री भएका पद्मशमशेरले तत्कालीन समयको छिमेक एवं वैश्विक परिस्थितिलाई दृष्टिगत गर्दै आन्तरिक र बाह्य नीतिमा केही क्रमभंग गर्न चाहेका थिए। उनले देशका लागि बलियो आर्थिक साझेदार खोजिरहेका थिए। आर्थिक रूपमा सम्पन्न र अनुदान दिन सक्ने अमेरिकाप्रति उनी आकर्षित भएका थिए।

उत्तरतिरको चीन गृहयुद्धमा फसेको थियो भने दक्षिणतिरको भारत स्वतन्त्रता प्राप्त गर्ने पूर्वसन्ध्यामा थियो। नेपालको लामो समयदेखिको स्थायी मित्रका रूपमा रहेको बेलायत शक्ति क्षयीकरणको अवस्थामा थियो। बेलायती शासक भारतबाट फर्कने भएपछि नेपालले अर्को बलियो साझेदारको साथ खोजेको थियो।

नेपालले नजिकका दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध कायम गर्दै टाढा भए पनि त्यतिबेलाको उदाउँदो विश्वशक्ति अमेरिकासँग सम्बन्ध कायम गर्न चाहेको थियो। ब्रिटिसकालदेखि नै तिब्बत र भारतको बीचमा स्वतन्त्र रहेको नेपालको भूराजनीतिक अवस्थाको महत्त्वलाई बुझेर अमेरिका पनि सम्बन्ध जोड्न प्रेरित भयो। त्यस्तै संसारभर सम्बन्धसँगै प्रभाव विस्तार गर्ने चाहनाले पनि अमेरिका नेपालसँग सम्बन्ध बढाउन अगाडि सरेको हुन सक्छ।

भारतीय स्वतन्त्रताअगावै ब्रिटिससँगको सम्बन्धलाई मिनिस्टरबाट राजदूत तहमा स्तरोन्नति गर्ने, स्वतन्त्र हुन लागेको भारतसँग राजदूत स्तरमा सम्बन्ध राख्ने, सम्बन्ध पुनर्ताजगीका लागि एकातिर चीनतर्फ विशेष प्रतिनिधिमण्डल पठाउने अर्कोतिर अमेरिकासँग दौत्य सम्बन्ध स्थापना गर्नु तत्कालीन प्रधानमन्त्री पद्मशमशेरको अत्यन्तै दूरदर्शी कदम थियो।

नेपाल र अमेरिकाका सरकारी अधिकारीबीच सन् १८५० मा जंगबहादुर राणा र त्यहाँ रहेका अमेरिकी राजदूत लरेन्सको भेट भई परिचय भएको थियो। (ग्लोब लन्डन, ३ जुन १८५०) पछि सन् १९३४ मा लन्डनमा नेपाली दूतावास स्थापना भएपछि भने एकअर्का मुलुकका दूतावासमा हुने औपचारिक कार्यक्रममा दुवै पक्षबाट निमन्त्रणा आदानप्रदान हुने गर्दथ्यो।

ह्वाइटहाउसमा पुगेर अमेरिकी राष्ट्रपतिसँग औपचारिक भेट गर्ने पहिलो नेपाली सरकारी प्रतिनिधि भने जनरल सिंहशमशेर जबरा हुन्। दोस्रो विश्वयुद्धको अन्त्यपछि सन् १९४५ को २६ अक्टोबरमा लन्डनमा नेपालका राजदूत रहेका सिंहशमशेर अमेरिका पुगेर राष्ट्रपति ट्र्युम्यानसँग भेट गरेका थिए।

नेपाल-अमेरिका सम्बन्धको सुरुवातको कोशेढुँगा मानिएको उक्त भेटमा सिंहशमशेरले ट्र्युम्यानलाई गैँडाको सिङ उपहारस्वरूप दिएका थिए। (द क्युएरो, ६ नोभेम्बर १९४५)

नेपालका तर्फबाट अमेरिकाको अर्को भ्रमण भने सन् १९४६ को जुलाईमा भएको थियो। वरिष्ठ कमान्डिङ जनरल बबरशमशेरको नेतृत्वमा रहेको सैनिक प्रतिनिधिमण्डल अमेरिकी स्टेट डिपार्टमेन्टको निमन्त्रणामा जुलाई २५ देखि अगस्त १ सम्म अमेरिका भ्रमणमा थिए।

त्यस क्रममा अमेरिकी राष्ट्रपति ट्र्युम्यानसहित सहायक विदेशमन्त्री डिन एचेसनसँग औपचारिक भेटवार्ता गरेको थियो। ३० जुलाई १९४६ का दिन राष्ट्रपति ट्र्युम्यानसँगको भेटमा नेपाली प्रतिनिधिमण्डलले उनलाई खुकुरी र देवीको सुन्दर मूर्ति उपहारमा दिएका थिए।

भेटमा नेपालका राजा त्रिभुवनका तर्फबाट अमेरिकाका लागि सद्भाव र मित्रताको सन्देश राष्ट्रपति ट्र्युम्यानलाई दिइएको थियो। त्यस्तै अमेरिकी अधिकारीका अनुसार नेपालले मैत्री सम्बन्ध स्थापना गर्नका लागि यथाशीघ्र अमेरिकी प्रतिनिधिमण्डललाई नेपालमा स्वागत गर्न आतुर भएको सन्देश दिएको थियो। (दी इन्डियन एक्स्प्रेस, २ अगस्ट १९४५)

अमेरिकाबाट फर्किएपछि बबरशमशेरले प्रधानमन्त्री पद्मशमशेरलाई दिएको जानकारीअनुसार राष्ट्रपति ट्र्यम्यानसँगको भेटमा उनले पछिल्लो विश्वयुद्धमा नेपालले मित्रराष्ट्रलाई गरेको सहयोगको प्रशंसा गर्दै दुई मुलुकका बीचमा मैत्रीभाव बढाउने उद्देश्यले नेपालमा चाँडै एक शिष्टमण्डल पठाउने बताएका थिए। (गोरखापत्र ८ नोभेम्बर १९४६)

अमेरिकाका तर्फबाट नेपालको औपचारिक भ्रमण गर्ने प्रथम अमेरिकी प्रतिनिधि भारतको दिल्लीस्थित अमेरिकी दूतावासका अधिकारी जर्ज आर मेरल हुन्।

उनी दोस्रो विश्वयुद्धमा ब्रिटिस सेनाका तर्फबाट नेपाली गोर्खा सैनिकले पुर्‍याएको योगदानको कदरस्वरूप तत्कालीन प्रधानमन्त्री पद्मशमशेरलाई अमेरिकी सेनाको सर्वोच्च सम्मान ‘लेजन अफ मेरिट’ तक्मा पहिर्‍याउन सन् १९४६ नोभेम्बरमा नेपाल आएका थिए। (सिभिल एन्ड मिलिट्री गजेट लाहोर १५ नोभेम्बर १९४६)

प्रधानमन्त्रीलाई उक्त तक्मा हस्तान्तरण गर्दा मेरलले गरेको सम्बोधनको मुख्य अंश यस्तो थियो –

‘अमेरिका र नेपालको बीचमा भएको निकट सम्बन्ध आगामी शान्तिकालमा झन्झन् निकट र बलियो हुँदै जानेछ भन्ने मलाई पूर्ण विश्वास छ। मित्रता र शुभकामनाका लागि अमेरिका नेपालतर्फ अघि सरेको छ।’ (गोरखापत्र २२ नोभेम्बर १९४६)

२२ मार्च १९४७ मा अमेरिकी विदेश मन्त्रालयले एक अधिकारी जोसेफ सी स्याटर्थवाइटलाई राष्ट्रपति ट्र्युम्यानको प्रतिनिधिका रूपमा मन्त्रीस्तरीय हैसियतमा नेपालसँग दौत्य सम्बन्ध स्थापना गर्न एक प्रतिनिधिमण्डल नेपाल पठाउने घोषणा गर्‍यो। (स्पोकन डेली क्रोनिकल, २२ मार्च १९४७)

स्याटर्थवाइट नेतृत्वको प्रतिनिधिमण्डलका अन्य सदस्यमा एच डे, रेमन्ड ए हेयर, विलियम सी जोन्स्टन जुनियर लेफ्टिनेन्ट कर्नेल नथानियल आर हास्कट, जे जेफर्सन जोन्स तृतीय र चाल्र्स डब्ल्यू बुथ थिए। वासिङ्टनबाट बम्बई हुँदै अप्रिल ६ मा दिल्ली पुगेको सो प्रतिनिधिमण्डल दिल्लीबाट ११ अप्रिलमा प्रस्थान गरी १३ अप्रिलमा काठमाडौँ आएको थियो।

२१ अप्रिलमा स्याटर्थवाइटले हनुमान ढोकामा राजा त्रिभुवनलाई भेटेर अमेरिकी राष्ट्रपति ट्र्युम्यानका तर्फबाट अमेरिकाले नेपालको स्वाधीनता स्वीकार गरेको पत्र दिए।

एजेन्सी

Comments

Back to top