नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको मुनाफामा उच्च गिरावट

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चालु आवमा कम्पनीको खुद नाफा ४७ करोड ५६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको खुद नाफा १८ करोड ८९ लाख रुपैयाँ धनात्मक रहेको थियो ।

यस अवधिमा कम्पनीको बीमा कोषको आकार २२.९४ प्रतिशतले बढेर आठ अर्ब ९१ करोड रुपैयाँ नाघेको छ । गत आवको यसै अवधिमा कम्पनीको बीमा कोषमा सात अर्ब २४ करोड रुपैयाँ संचिती रहेको थियो । असोज मसान्तसम्म जगेडा कोषमा १९ करोड ६९ लाख रुपैयाँ संचिती छ भने महाविपत्ति कोषमा २६ करोड ७४ लाख रुपैयाँ संचिती रहेको छ ।

कुल एक अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३४.७० प्रतिशत कम हो । गत आवको यही अवधिमा कम्पनीले दुई अर्ब १९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

गत आवको तुलनामा कम्पनीको कुल आम्दानीमा १५.८२ प्रतिशतको गिरावट आएको छ । गत आवको असोज मसान्तसम्म दुई अर्ब बढी कुल आम्दानी गरेको यस कम्पनीले चालु आवको सोही अवधिमा एक अर्ब ७३ करोड रुपैयाँमात्र आम्दानी गर्न सफल भएको छ ।

एजेन्सी

Comments

Back to top